नयाँ युगको सुरुवात नेपालको राजनीतिक इतिहास फेरि एकपटक निर्णायक मोडमा आइपुगेको छ। लामो समयदेखि थामिएको असन्तोष, आक्रोश र निराशाको ज्वालामुखी अन्ततःजेनजी पुस्ताको आन्दोलनमार्फत विस्फोट भई देशले ठूलो परिवर्तनको ढोका खोलेको छ। आम जनताका अपेक्षा र सपना विशाल छन्, तर जताततै प्रतिशोध, षड्यन्त्र र अविश्वासका बादल मडारिरहेका छन्। जलेको सिंहदरबार, खरानी बनेको न्यायालय, खण्डहर भएका सार्वजनिक सम्पत्ति र देशभरि ध्वस्त उद्योग–व्यवसायले पुरानो व्यवस्थाको असफलता स्पष्ट देखाइदिएका छन्।
तर यो केवल विनाशको कथा होइन, पुनर्निर्माणको अवसर पनि हो। आन्दोलनले दिएको म्यान्डेट छर्लंग छ—संसद् विघटन हुनेछ, शुशिला कार्कीको अध्यक्षतामा अन्तरिम सरकार गठन हुनेछ। यही सरकारले संसद्को काम गर्दै संविधान संशोधन र नयाँ ऐन–कानून निर्माण गर्नेछ। २०४६ सालदेखि अहिलेसम्मका सम्पूर्ण नेता तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनेछ। सेप्टेम्बर ८ को नरसंहारमा संलग्नहरूलाई कारबाही हुनेछ। प्रदेश संरचना खारेज भई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था हुनेछ। र अन्ततः, ताजा जनादेशका लागि आम निर्वाचन सम्पन्न हुनेछ। यी मागहरू केवल नारामात्र होइनन्, पुरानो संरचनाबाट छुट्कारा पाई नयाँ राजनीतिक संस्कृतिको जग बसाल्ने संकल्प हुन्।
यस्तो ऐतिहासिक घडीमा पूर्व प्रधानन्यायाधीश सुसिला कार्कीको नेतृत्वमा देशले आशा देखेको छ। उहाँको सत्यनिष्ठा, इमानदारी र साहसिक छवि नै आजको आवश्यकता हो। पुरानो पुस्ताले कमजोर बनाएको विश्वासलाई उहाँले पुनःस्थापित गर्ने अपेक्षा जनतामा छ। लोकतन्त्रलाई दलभित्र मात्रै सीमित राख्ने होइन, दलभित्र–बाहिर पुल बनाएर बलियो बनाउने जिम्मेवारी उहाँको काँधमा छ। संविधान र कानुन समयअनुसार निकास दिने साधन हुन्, त्यसैले आन्दोलनको म्यान्डेटलाई कानुनी बहानामा अस्वीकार गर्नु अन्याय हुनेछ। देशलाई सुशासन र पारदर्शिताको आधारमा सुनौलो बिहानीमा डोर्याउनुपर्ने जिम्मेवारी गम्भीर छ, समय पनि सीमित छ। पाइलापाइलामा अवरोध हुनेछन्
तर समाधान खोज्ने साहस, संयम र सहकार्य नै मुलुकलाई अगाडि बढाउने बाटो हो। जेनजी आन्दोलनले दिएको ऊर्जा र कार्कीको नेतृत्वले देशमा नयाँ विश्वास जगाउनेछ भन्ने हाम्रो दृढ विश्वास छ। यस अवसरमा, सिन्धुली जेनजी परिवार र मेरो व्यक्तिगत तर्फबाट सुसिला कार्कीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। हाम्रो शुभेच्छा उहाँलाई ऊर्जा बन्न जाओस्, उहाँको एक–एक पाइला देशलाई स्थिरता, न्याय र समृद्धितर्फ अघि बढाओस्। विनाशपछि पुनर्निर्माण हुन्छ, निराशापछि आशा पलाउँछ। अबको यात्रा कठिन भए पनि सम्भव छ, किनकि यो यात्रा सत्य, न्याय र नयाँ पुस्ताको संकल्पले निर्देशित छ।
सिन्धुली जेनजी तथा व्यक्तिगत तर्फबाट –सुसिल कोइराला 