काठमाडौं । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन व्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।
पारिवारिक सुख–समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार साँझ व्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् ।
तेस्रो दिन बिहीबार छठको मुख्य दिन सौझकारक रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरू चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ । छठ पर्वमा विशेष गरी अर्घ दिन व्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यस कारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ । तराई–मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ ताल लगायतका ऐतिहासिक जलाशय किनारहरूलाई नवदुलही झैं सजाउने काम जारी छ । मिथिलाञ्चल सहित तराई–मधेशमा अहिले छठको सुमधुर गीतले गुञ्जायमान बनेको छ । पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाहरूले पनि छठ पर्व मनाउन थालेका छन् । पहिलापहिला तराई मधेसका जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको सङ्घीय राजधानी काठमाडौँसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायत स्थानमा पनि धूमधामका साथ मनाउन थालिएको छ ।