सिन्धुली । असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सिन्धुलीमा ३ अर्वको भौतिक क्षती भएको छ । अविरल वर्षा सँगैको बाढी र पहिरोले जिल्लामा उक्त क्षती भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीय तह तथा प्रहरी प्रशासनले १५ दिन भन्दा बढी समय लगाएर संकलन गरेको तथ्यांक अनुसार जिल्लामा बाढी र पहिरोले ३ अर्वको क्षती भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फूयालले जानकारी दिनुभयो । बाढीले गाउँ बस्ती र बजार डुवान पर्नुका साथै सडक, पुल विद्यालय, स्वास्थ्य संस्था लगायतका संरचना डुवाउदा तथा धान खेत बगाउदा उक्त क्षती भएको सहायक प्रजिअ फुयालले बताउनुभयो ।
रोशी खोला र सुनकोशी नदीको बाढी दुम्जा, मुलकोट, खुर्कोट लगायत गोलन्जोर र फिक्कल गाउँपालिकाको नदी तटिय क्षेत्रमा पस्दा र हरीहरपुरगढी क्षेत्रका खोला खहरेले खेतीयोग्य जमिन र बस्तीमा क्षती गरेको उहाँको भनाई छ । संकलित तथ्यांक अनुसार बाढीले २६३ घर पुर्ण क्षती, २२५ घरमा आशिंक क्षती भएको छ ।
यस्तै विपी राजमार्ग ४ ठाउँमा, मध्य पहाडी लोकमार्ग ७ ठाँउमा क्षती भएको छ भने जिल्लाका २ पक्की पुल, २३ वटा झोलुङगे पुल २१ वटा विद्यालयमा क्षती भएको छ । यो सँगै बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था, प्रहरी चौकी, माछा पोखरी, खानेपानी र सिंचाई क्षेत्रका पसलमा क्षती भएको पनि स्थानिय प्रशासनले संकलन गरेको तथ्यांकले देखाएको छ ।
यता जिल्लामा स्थानिय प्रशासनले बाढी प्रभावित नागरिकलाई झण्डै ७९ लाख बराबरको राहत वितरण गरेको जनाएको छ । स्थानिय स्तरबाट प्राप्त तथ्यांकलाई अभिलेखीकरण गरी ९ सय १८ जनालाई ७८ लाख ९१ हजार बराबरको राहत एकद्धार प्रणालीबाट वितरण गरिएको प्रशासनले जनाएको छ ।