सिन्धुली — बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ । लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डे र रोशी गाउँपालिकाको बर्खे खोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध छ । झन्डै १० हजार सवारी यो राजमार्गमा गुड्छन । पूर्वी नेपाल तथा तराईलाई राजधानीसँग जोड्ने यो छोटो वैकल्पिक मार्ग हो ।
अहिले यो राजमार्ग बाढी र पहिरोका कारण अस्तव्यस्त बनेको छ । धुलिखेल–नेपालथोक अन्तर्गत ५० किलोमिटर खण्डको करिब आधा दर्जन स्थानमा सडक नै बगेको छ । विभिन्न खण्ड गरेर १ किलोमिटर बढी सडक रोशी खोलाले बगाएको छ । अहिले उक्त स्थानमा सडक मर्मतको कुनै काम हुन सकेको छैन । जसले गर्दा यो खण्डमा यातायात लगभग ठप्प छ । बीपी राजमार्गअन्तर्गत नेपालथोक–खुर्कोट–सिन्धुली–बर्दिवास खण्ड पुनः सञ्चालनमा आएको छ । धुलिखेलबाट पाँचखालको चौकीडाँडासम्म पहिरो पन्छाएर एकतर्फी सडक सुचारु गरिए पनि त्यहाँ ठूला सवारीसाधन चलाउन मिल्ने अवस्था छैन ।
नेपालथोकको झोलुंगे पुलनजिकै करिब सय मिटर सडक बगेको छ । त्यहाँ कालोपत्रे सडकको कुनै संकेत नै देखिन्न । गाडी गुड्ने ठाउँमा खोला बगिरहेको छ । यो सडकखण्डको ७ ठाउँमा रोशीले कालोपत्रे सडक बगाएको छ । काभ्रेको मंगलटारमा २ सय मिटर सडक बगेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीले बगाएको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना खण्डमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । यता थलीबेसी र नार्के पुलनजिक २÷२ सय मिटरको हाराहारीमा सडक बगेको छ ।
नेपालथोकनजिक बगेको एक सय मिटर सडकमा रोशी खोलालाई ‘डाइभर्ट’ गरेर सडक बनाउने काम सुरु गर्न लागेको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारसमणि हमालले जानकारी दिनुभयो । बीपी राजमार्गको १ सय १० किमि सडकमा यातायात सुचारु रहेको छ । तर, करिब ५० किमि सडकखण्डमा भने पुनर्निर्माण आवश्यक छ ।
बीपी राजमार्गको धेरै ठाउँमा सडक बगेकाले गर्दा पूर्ण रूपमा मर्मत गर्न समय लाग्ने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताउनुभयो । उहाँका अनुसार सो खण्डको सडकलाई दसैं अगाडि अस्थायी रूपमा मात्रै सञ्चालन गर्न मिल्ने गरी मर्मत गर्न सकिन्छ । “सडक विभागबाट प्राविधिकसहितको टोली मंगलबार भकुन्डेबेसी जाँदै छ । कहाँसम्म समस्या छ । टोलीले सबै हेर्ने छ । भकुन्डेबेसीदेखि नेपालथोकका विभिन्न खण्डमा धेरै समस्या छन्,” उहाँले भन्नुभयो, “जहाँ सडक बगाएको छ, त्यहाँ रोशी खोलाको पानी घट्नासाथ अस्थायी रूपमा खोलाबाटै ग्राभेल राखेर सडक बनाइनेछ । पानी नपरे एक हप्ताभित्र यो सडक सहज रूपमा सञ्चालनमा आउनेछ । दसैंसम्म सडक खोल्ने गरी काम गरिनेछ ।” उहाँले खुर्कोटमा पुल बगाएको स्थानमा पनि वैकल्पिक व्यवस्था गरेर सवारी सञ्चालनमा ल्याउने गरी काम गरिने दाबी गर्नुभयो ।
पूर्ण सुचारु गर्न डेढ अर्ब लाग्ने
बीपी राजमार्गमा पहिरो र बाढीका कारण सडक नै भाँसिएकाले पहिले जस्तै पूर्ण सञ्चालनमा ल्याउन सरकारले भाँसिएको ठाउँको सडक निर्माणका लागि ठूलो बजेट विनियोजन गर्नुपर्ने अवस्था देखिएको छ ।
रोशी गाउँपालिकास्थित बर्खे खोलाको कटानले भाँसिएको सडक पुनः निर्माण गर्न र अन्य खण्डको अवरोध हटाउन डेढ अर्बभन्दा बढी बजेट आवश्यक पर्ने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी सुमनराज बस्नेतले बताउनुभयो । “भाँसिएको सडक पुनःनिर्माण गर्न ३–४ महिना नै लाग्न सक्छ,” उहाँले भन्नुभयो, “त्यस्तै, ठूलो क्षति भएकाले सडक पहिलेकै अवस्थामा सुचारु गर्न डेढ अर्ब जति बजेट नै लाग्ने अनुमान छ ।”