सिन्धुली– सिन्धुलीमा आज गाडी दुर्घटना भएको छ । शनिबार बेलुका साढे पाँच बजेको समयमा मध्य पहाडी लोकमार्गस्थित सिन्धुलीको गोलान्जोर गाउँपालिका १ कुुडुलेमा निजि गाडी आफैँ अनियन्त्रित भई सुनकोशी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभएको छ ।
खोटाङको हलेसीबाट भक्तपुर जादैँ गरेको चार जना सवार इसुजु हाइलक्स गाडी सुनकोशीमा खसेको एसपी काफ्लेले बताउनुभयो । गाडिमा सवारमध्य भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका २७ वर्षिय सुसान्त कक्षपति प्रहरीको सम्पर्कमा रहेको र उनी मध्यम घाईते भएका छन् । गाडीमा सवार चारैजना भक्तपुरको सुर्यविनायक नगरपालिका जगातिका बासिन्दा हुन् । गाडीका चालक ३२ वर्षिय अबिन बके, ३० वर्षिय प्रनित हंयजु र ३७ वर्षिय बलराम घटुवा बेपत्ता छन् । गाडी देखिएको र निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले बताउनुभयो ।
घट्नास्थलमा ग्वालटार प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी कार्यालय सिन्धुली र शसस्त्र प्रहरी कार्यालय सिन्धुलीबाट बाट झण्डै ३५ जनाको प्रहरी टोली उद्धारमा खटिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।