सिन्धुली, साउन २९, २०८१ मंगलबार । जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सिन्धुलीमाढीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुलीको आयोजना, सिड्स नेपाल, रिलिफ नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा वल्र्ड भिजन इन्टरनेशन नेपालको सहयोगमा रिलिफ नेपाल र सिड्स नेपाल सिन्धुलीले संचालन गरेको परियोजनाको बिषमा जानकारी तथा छलफल गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा रिलिफ नेपाल सिन्धुलीले जिल्लाको तीनपाटन गाउँपालिका गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिमा एकिकृत बाल संरक्षण तथा समुदाय संलग्नता परियोजना संचालन गरिरहेको छ । परियोजना अन्तर्गत बिद्यालय भवन निर्माण, बाल संरक्षण तथा बाल स्पोन्सरसीप, रुपान्तरण कक्षा संचालन, बाल मैत्री वडा घोषणा लगायतका कामहरु भएको रिलिफ नेपाल सिन्धुलीका परियोजना संयोजक पंकज पाण्डेले बताउनुभयो ।
त्यस्तै वल्र्ड भिजन इन्टरनेशन नेपालको सहयोगमा सिड्स नेपाल सिन्धुलीले तीनपाटन गाउँपालिका गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिमा पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना संचालन गरिरहेको छ । परियोजना अन्तर्गत स्वास्थ्य आमा समुहका आमाहरुलाई स्वास्थ्य परिक्षण गरि पोषण सम्बन्धी ज्ञान सिपको अभिबृद्धि, बालबालिकाको बृद्धि अनुगमन, सकारात्मक झुकावका लागि सामुहिक चुलो कार्यक्रम, बालमैत्री र पोषण मैत्री स्थानीय शासनको लागि सरोकारवालालाई क्षमता अभिबृद्धि, खानेपानी योजना निर्माण, स्वास्थ्य संस्थाहरुमा बिभिन्न मेशिनहरु सहयोग लगायतका कार्यक्रम संचालन गरिएको सिड्स नेपाल सिन्धुलीका परियोजना अधिकृत सागर धितालले बताउनुभयो ।
जिल्ला परियोजना सल्लाहकार समितिको बैठकको अवसमा सहभागी हरुले कुनै संस्थामा सामाग्री सहयोग गर्दा अथवा कुनै संरचना निर्माण गर्दा सम्बन्धीत निकायलाई जानकारी गराउनुपर्ने, पालिकाका केहि वडामा छरिएर कार्यक्रम गर्नुभन्दा पालिकाको सबै वडामा कार्यक्रम संचालन गर्नुपर्ने, दिगोपनामा ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले जिल्लाको ३ वटा पालिकामा संचालित परियोजनाहरुले राम्रो काम गरेको महशुस भएको बताउनुभएको छ । परियोजना संचालन भएको स्थानका बालबालिकाको स्तर बृद्धि भएकाले अन्य समयमा अनुगमनको लागि जादा अन्य पालिकाका प्रतिनिधीलाई समेत समेट्न आग्रह गर्नुभएको छ ।
कार्यक्रमको अवसरमा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले भौतीक विकास संगै सामाजिक विकासको आवश्यक रहेको बताउदै गैर सरकारी संस्थाको सहयोगमा पालिकाका ४ वटा वडा बालमैत्री घोषणा भइसकेको र अन्य वडाहरु पनि बालमैत्री घोषणाको लागि तयारी भइरहेको बताउनुभएको छ । पालिकामा संचालन भएको परियोजना तथा कार्यक्रमको दिगोपनाको लागि सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी भरत खनालले बिभिन्न विकासका कामहरु सरकार एक्लैले गर्न नसक्ने बताउदै यसमा गैर सरकारी संस्थाहरुको पनि महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ । गैर सरकारी संस्थाहरुले दातृ निकायको सहयोगमा कार्यक्रमहरु संचालन गर्ने भएकाले लक्ष्य अनुसारको काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।