सिन्धुली । फिक्कल गाउँपालिका–६ बाट सरुवा भई हाल वडा नं. १ महादेवडाँडामा कार्यरत कृषि प्राविधिक सुन्दर सुनुवारले रक्सीको नशामा स्थानीयमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
स्थानीय स्रोतका अनुसार सुनुवार कार्यालय समयमा समेत रक्सी सेवन गरेर बसेका भेटिन्छन् । सोमबार साँझ उनी रक्सीको मातमा गोठडाँडा पुगेका थिए जहाँ उनले स्थानीयहरूसँग बिबाद गर्दै हातपातसमेत गरेका छन् ।
सुनुवारविरुद्ध यसअघि पनि कार्यालयमा गैरजिम्मेवारी, जनताप्रतिको अशोभनीय व्यवहार र नियमित हाजिरीमा लापरवाहीका गुनासाहरू आइरहेका थिए । स्थानीयबासीले भने, “यो कर्मचारी होइन, डन जस्तो व्यवहार गर्छ।”
जनताको सेवा गर्न पठाइएका सरकारी कर्मचारीले यसरी सार्वजनिक स्थानमा रक्सी सेवन गरेर हिंसात्मक व्यवहार गर्नु फिक्कल गाउँपालिकाको प्रतिष्ठामाथि ठाडो प्रहार भएको भन्दै स्थानीयवासी आक्रोशित छन् ।
जनताको आवाजअनुसार गाउँपालिकाले तत्काल सुन्दर सुनुवारलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने माग उठेको छ ।
त्यस्तै, वडा नं. १ का अध्यक्ष होम सुनुवारले पनि घटनाबारे स्पष्टीकरण मागी आवश्यक कदम चाल्नुपर्ने जनचासो बढ्दो छ ।