सिन्धुली । सिन्धुलीको खुर्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै जिल्लाका तीनवटा गाउँपालिकाका अध्यक्षहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
मध्यपहाडी लोकमार्ग र बीपी राजमार्गको सङ्गमस्थल खुर्कोट, नेपाल सरकारले विकास गरिरहेको दश नयाँ शहरमध्ये एक हो। शहरीकरणको बढ्दो क्रम र यातायात, विद्युत तथा इन्टरनेट जस्ता पूर्वाधारको सहज पहुँचका कारण यस क्षेत्रमा जनघनत्व बढिरहेको छ।
हाल फिक्कल, गोलन्जोर र सुनकोशी गाउँपालिकाका बासिन्दाहरूले नागरिकता लगायतका प्रशासनिक सेवा लिनका लागि सदरमुकाम सिन्धुलीमाढी पुग्नुपर्ने बाध्यता छ। खुर्कोटमा कार्यालय स्थापना भएमा तीनवटै पालिकाका जनतालाई नजिकैबाट छिटो र सहज सेवा प्राप्त हुने मागकर्ताहरूको भनाइ छ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा वोहरा दाहाल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। प्रमुख जिल्ला अधिकारीले भौगोलिक विकटता र जनघनत्वका आधारमा अध्ययन गरी कार्यालय स्थापनाको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
News By : Raj Kumar Shrestha