टोकियो, जापान । सामाजिक उत्तरदायित्व र नवप्रवर्तनशील सोचका साथ क्रियाशील युवा अभियन्ता गणेश अधिकारीले गैरआवासीय नेपाली संघ (NRNA) जापानको २०२५–२०२७ कार्यकालका लागि राष्ट्रिय परिषद सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले NRNA जापानलाई अझ प्रभावकारी, समावेशी र पारदर्शी बनाउने दृढ संकल्प व्यक्त गर्दै, संस्थालाई नीतिगत सुधार, युवा सहभागिता र समुदायसँगको सहकार्यमा केन्द्रित बनाउने प्रतिबद्धता जनाउनु भएको छ।

गैरआवासीय नेपाली संघ (NRNA) गुन्मा क्षेत्रीय समितिका सल्लाहकार सदस्यको रूपमा २०२३–२०२५ को कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकारी, जापानमै उच्च शिक्षा हासिल गरेका एक सक्रिय, अनुभवी र जनउत्तरदायी नेतृत्वकर्ता हुनुहुन्छ।

सिन्धुली समाज जापानमा उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ। उहाँले २०२१– २०२३ को कार्यकालमा उपाध्यक्ष तथा २०२३–२०२५ मा अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै हालै सम्पन्न निर्वाचनमार्फत पुनः २०२५–२०२७ कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो।

यसअघि, २०२३–२०२५ कार्यकालमा NRNA NCC जापान सदस्य पदमा समेत उम्मेदवारी दिनु भएको थियो। साथै, उहाँ नवसिर्जनशील युवा सञ्जाल जापानमा देश विशेष सदस्यको रूपमा समेत सक्रिय रहँदै आउनुभएको छ। अधिकारीको उम्मेदवारीले NRNA जापानमा युवा नेतृत्व र सक्रिय सहभागिताको आवश्यकतालाई जोड दिएको छ।