सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । यहि बैशाख १५ गते एक कार्यक्रम गरि फिक्कल गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो । वडालाई बालमैत्री घोषणाका लागि आवश्यक पर्ने ५१ सूचकहरू पूरा भइसकेको र अनुगमन पश्चात् अनुमती दिने निकाय बाट अनुमती प्रदान भएकोले वडालाई सरकार द्वारा निर्धारित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष टेक बहादुर रजन मगरले बताए ।

कार्यक्रम वडा नं. ३ को प्राङ्गणमा आयोजना गरिने छ । बाल अधिकारको संरक्षण, बालमैत्री सेवा प्रवाह, सहभागिता र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले गरिने यो कार्यक्रममा स्थानीय बालबालिकाहरूको प्रतिभा प्रदर्शन, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, र र्याली पनि समावेश गरिनेछ । वडालाई बालमैत्री घोषणा गर्नको लागि रिलिफ नेपाल, वल्र्ड भिजन, सिड्स नेपाल लगायतका साझेदार संस्थाहरूको उल्लेखनीय सहयोग रहेको छ । यो घोषणाले केवल वडा नं. ३ मा बाल अधिकार र सुरक्षालाई सुदृढ बनाउनेछ, र समग्र गाउँपालिकामा बालमैत्री अवधारणाको प्रभावकारी कार्यान्वयनतर्फ पनि मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

यसअघि फिक्कल गाउँपालिका वडा नं. ५ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ; भने वडा नं. ३ फिक्कल गाउँपालिकाको दोस्रो बालमैत्री वडा हुने तयारीमा छ । बालमैत्री वडा घोषणाको तयारी अन्तर्गत बालमैत्री स्थानीय शासन सम्बन्धी तालिमहरू, विभिन्न सरोकारवालाको सहकार्य, बाल क्लब सञ्जाल, अभिभावक, शिक्षक र स्वयंसेविका हरूको सक्रिय सहभागिता रहँदै आएको छ ।