घरमा नवीन सुखको आभास हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ ।
कन्या, (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ ।
तुला, (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूलरतरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ ।
बृश्चिक, (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ ।
धनु, (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ ।
मकर, (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो ।
कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ ।
मीन, (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला, त्यस्तै घरमा सम्पर्क गरी आमासँग कुराकानी गरेको जाती हुन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्