हेटौंडा – सिन्धुलीकी १४ वर्षीया किशोरी जेनिशा क्यापछाकी मगर बागमती प्रदेश उद्योग भूमि तथा प्रसाशन मन्त्री बन्नु भएको छ ।
गैर सरकारी संस्था जनजाति समाज विकास कार्यक्रम (जेएसडीपी) ले सोमवार आयोजना गरेको कार्यक्रममा तीपाटन गाउँपालिका–२ भीमस्थानकी जेनिशा एकदिने मन्त्री बन्नु भएको हो ।
माननीय मन्त्री सुकमाया तामाङले किशोरी जेनिशालाई आफ्नो पद हस्तान्तरण गर्दै सिन्धुली जिल्लाको मात्र नभई समग्र बागमती प्रदेशका किशोर किशोरीहरुको समस्या समाधान गर्न र उनीहरूको वक्तित्व विकासका लागि काम गर्न सुझाव दिनु भएकाे छ ।
मन्त्री तामाङले नयाँ मन्त्री जेनिशालाई मन्त्रालयबाट भए गरेका कामहरुको जानकारी गराउनु भएको थियो भने नव नियुक्त मन्त्रीले बागमती प्रदेशमा वातावरण मैत्री उद्योग स्थापना गरेर देशमा बढदै गएको बेरोजगारी समस्या समाधान गर्न काम गर्ने उहाँको भनाइ छ । उहाँले सबै भन्दा पहिला बेरोजगारी समस्या समाधान गर्ने र बढ्दो विदेश पलायन रोक्न काम गर्ने छु । उहाँले बागमती प्रदेशमा किशोर किशोरीको समस्या जटिल रहेको बताउँदै यस क्षेत्रमा काम गर्न सबैको सहयोग जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्र कुमार केसीले नव नियुक्त मन्त्री जेनिशालाई मन्त्री बनेर पहिला के काम गर्नु हुन्छ भन्ने प्रश्न गर्नु भएको थियो । त्यसक्रममा मन्त्री जेनिशाले बेरोजगारी अन्त्य गर्न आफूले पहिला ठूला ठूला उद्योग स्थापना गर्ने जानकारी दिइन् ।
तस्बिर : उधब कुमार श्रेष्ठ


