सिन्धुली, असोज २०, २०८१ आइतबार । लोटस कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युटले नेपाली हरुको महान पर्व बडादशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रको आयोजना गरेको छ । इन्स्टिच्युटका संचालक सुर्य चौहानको अध्यक्षता तथा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाको विशिष्ट आतिथ्यता, कमलामाई नगर बाल संजालका अध्यक्ष दिवस कुमार थापा लगायतको आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा इन्स्टिच्युटमा भाषा सिकेर जापान तथा कोरिया जानको लागि छनोट भएका बिद्यार्थीलाई बिदाई, इन्स्टिच्युटमा भाषा तथा कम्युटर सिकाउने शिक्षकहरुलाई सम्मान गरिनुका साथै बेसिक तथा डिप्लोमा कोर्ष गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमको अवसरमा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले देशका उर्जावान युवाहरु बिदेसीन लागेको यो क्षण निकै दुखद भएको बताउनुभएको छ । देशमै रोजगारी सिर्जना गर्न सके देशका भविष्य बोकेका युवा देश बाट बाहिरीनु नपर्ने उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाले अहिलेको प्रविधिको समयमा लोटस इन्स्टिच्युटले बिद्यार्थीहरुलाई बिभिन्न सिप सिकाइरहेको र सिन्धुली जिल्लामा शिक्षाको क्षेत्रमा योगदान पुर्याएको बताउनुभएको छ । राज्यमा सिमित श्रोत साधन भएकाले सबैलाई रोजगार सिर्जना गर्न नसकेका कारण अहिले दक्ष युवाहरु बिदेसीनु परेको उहाँको भनाई छ ।
त्यस्तै कमलामाई नगर बाल संजालका अध्यक्ष दिवस कुमार थापाले देशमै रोजगारी सिर्जना नभएका कारण कलिलो उमेरमा नै बिदेसीनु पर्ने नेपालीको बाध्यता रहेकाले देशमा युवाहरुलाई रोक्नको लागि इन्स्टिच्युट बन्द गर्ने हैन रोजगारी ल्याउनुपर्ने बताउनुभएको छ । २०७३ सालमा कमलामाई नगरपालिका ६ धुराबजारमा स्थापना भएको लोटस इन्स्टिच्युटमा अहिले ७ सय ५० जना बिद्यार्थी हरु अध्यनरत रहेको संथाका संचालक सुर्य चौहानले जानकारी दिनुभयो ।