सिन्धुली, असोज १९, २०८१ शनिबार । सिन्धुलीका बाढी पिडितहरुको लागि पहिरो चरणको राहत वितरण सम्पन्न भएको छ । असोज ११ र १२ गते अविरल वर्षा पछि सुनकोशी र रोशी खोलामा आएको बाढीको कारण प्रभावित परिवारलाई पहिलो चरणको राहात वितरण कार्य सम्पन्न भएको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा राहत वितरण गरिएको राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणी फुयाँलले जानकारी दिनुभयो ।
पालिका स्तरिय विपद व्यवस्थापन समितिले जिल्ला विपद व्यवस्थापन समिति कार्यदल र नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराएको विवरण अनुसार सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ३ सय १० परिवारलाई खाद्य तथा गैह्र खाद्य सामग्री वितरण गरीएको हो । गोलन्जोर गाउँपालिका अन्तर्गत खुर्कोटका ६४ परिवार, बलेनी, मुर्किवेशीका ३२ गरी जम्मा ९६ परिवार लाई खाद्य तथा गैह्र खाद्य राहत वितरण गरिएको हो ।
त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका ११ घर परिवार र सुनकोशी गाउँपालिकामा वडा नं. १ मा ६८, वडा नं. २ मा १४, वडा नं. ३ मा १४, वडा नं. ४ मा १९, वडा नं. ५ मा ७४ र वडा नं. ६ मा १३ गरी २ सय ३ घर परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुली र जिल्ला विपत व्यवस्थापन समितिको अगुवाईमा एकद्धार प्रणाली मार्फत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा राहत सामाग्री वितरण गरीएको हो ।
प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्था मानव तथा राष्टिय विकास समाज (हेण्डस) नेपाल र जनजाती विकास समाज कार्यक्रमले सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका गरी जम्मा ३ सय १० घर परिवारमा खाद्य र गैरखाद्य सामाग्रीहरु वितरण गरेको छ ।
गैर खाद्य सामाग्री राहत प्याकेजमा त्रिपाल २, कम्वल २, पि–फम २, सौर्य वत्ति १, डोरी ५ रोल गरी ८ हजार ८ सय ६९ र भान्सा सामाग्री (खाद्य) प्याकेजमा सिल्भर डेक्ची (सानो, ठुलो) ३, थाल ३, कचौरा २, गिलास २, डाढु १ र पुन्यु १ गरी १ हजार ७ सय ६८ रकम गरी प्रत्यक घर परिवारलाई जम्मा १० हजार ६ सय ३४ रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । वल्ड भिजन इन्टरनेशनल नेपाल र रिलिफ नेपालको सहयोगमा अन्य खाद्य र गैर खाद्य सामाग्री वितरण गरीएको छ ।