सिन्धुली । राष्ट्रिय बाल दिवसको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका ६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । वडाले सञ्चालन गरेको एक औपचारिक कार्यक्रममा सङ्घीय सांसद माननीय श्याम कुमार घिमिरेले कमलामाई नगरपालिका ६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले सिन्धुली जिल्लामा कमलामाई नगरपालिका ६ नम्बर वडा बालमैत्री वडा घोषणा गर्ने छैटौँ वडा भएको बताउनु भयो । यसले जिल्लाको सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने अभियान सहयोग पुगेको बताउनु भयो । त्यस्तै उहाँले अभिभावकहरूले आफ्नो बालबालिकालाई दिनु पर्ने सबै अधिकारहरू दिनु पर्ने र सामाजिक रुपमा सम्पूर्ण बाल अधिकार सम्बन्धी सचेतना जागृत गर्न बालमैत्री वडा घोषणाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कमलामाई नगरपालिका ६ नम्बर वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ कार्यान्वयन कार्यविधि २०६८ बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७६ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको सबै सूचकहरू र मापदण्डहरू पुरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । यो कमलामाई नगरपालिक सिन्धुलीको पहिलो बालमैत्री वडा र सिन्धुली जिल्लाको छैटौँ बालमैत्री वडा हो यस अघि सिन्धुलीको तीनपाटन गाउँपालिकाको चार वटा वडा र फिक्कल गाउँपालिकाको एउटा वडा बालमैत्री वडा घोषणा भइसकेको छ ।

कमलामाई नगरपालिका ,वडा, बालक्लब,युवा तथा किशोर किशोरीहरु ,टोल विकास संस्था सरकारी तथा गैरसरकारी सङ्घसंस्था , नागरिक समाज, प्रहरी , विद्यार्थी , अभिभावक,पत्रकार लगायत सबै सरोकारवाल निकायको सहयोग , समन्वय र सहकार्यमा कमलामाई नगरपालिका ६ नम्बर बालमैत्री वडा घोषणा गरिएको र यसलाई निरन्तरता दिने सबै सरोकारवाला निकायहरूले प्रतिबद्धता जनाएका छन् । त्यस्तै‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो ।