सिन्धुली, भदौ ७, २०८१ शुक्रबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा बाघले गाई, गोरु तथा पशुचौपाय मार्न थालेपछि किसान त्रसित बनेका छन् । बाघले पशुचौपाय दिनदिनै मार्न थालेपछि किसान त्रसित बनेका हुन्। फिक्लल गाउँपालिकाको ५ नम्बर वडाको सोल्पा, खाङसाङ, झगरेबेसी, नारिम खोला लगायत पालिकाको अन्य वडाहरूमा समेत बाघको आतङ्क बढेको स्थानीय बुद्धिलाल पाहाडीले बताए ।
३ महिना अघि देखिनै बाघले जङ्गलमा चर्न गएको पशु चौपायहरु मार्ने गरेको र अहिले घरघरमै आएर मार्न थालेको उहाँकाे भनाइ छ। अहिले सम्म २ ओटा गाई र २० ओटा बाख्रा मारेको उहाँले बताउनु भयाे । किसानले जीविकोपार्जनको लागि आम्दानीको सा्रेत बनाएका पशुचौपायलाई बाघले मार्न थालेपछि किसान चिन्तित बनेको उहाँको भनाई छ । जङ्गलमा रहेको बाघ अहिले गाउँघर तिरै देखिन थाले पछि मानिसलाई पनि आक्रमण गर्ने हो की भन्ने चिन्ताले किसानलाई थप सताएको छ ।
त्यस्तै फिक्कल गाउँपालिका ५ का तारा राना मगरको वनमा चराउन लगेको ३ ओटा बोका बाघले खाएको बताउनु भयो । यस बिषयमा उहाँले वन कार्यलयलाई समेत जानकारी गराएको बताउनु भयो । यता फिक्कल गाउँपालिका ५ नम्बरका वडा अध्यक्ष बैकुण्ठलाल पाहाडीले भने किसानलाई सचेत रहन र जङ्गलमा गाई, गोरु, बाख्रा चराउन जाँदा समूहमा जान आग्रह गर्नु भएको छ । त्यतिकै जङ्गलमा पशु चौपायलाई नछाड्न र घरमै पशुचौपायलाई राख्दा पनि बलियो खोर, या दाम्लाले बाँधेर राख्न उहाँले आग्रह गर्नु भएको छ ।