सिन्धुली, भदौ २, २०८१ आइतबार । लम्पी स्किन विरुद्धको खोप अभियान अन्तर्गत सिन्धुलीमा ५ हजार ४ सय पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । पशु सेवा कार्यालय सिन्धुलीको आर्थिक बर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार गएको साउन २५ गते देखि ३१ गते सम्म संचालन गरिएको खोप अभियान कार्यक्रममा ५ हजार ४ सय पशुमा लम्पी स्किन बिरुद्धको खोप लगाइएको हो ।
अभियान अन्तर्गत कमलामाई नगरपालिकामा ८ सय, दुधौली नगरपालिकामा ८ सय, तीनपाटन गाउँपालिकामा ८ सय पशुमा खोप लगाएको पशु सेवा कार्यालय सिन्धुलीका सुचना अधिकारी नवराज थापाले जानकारी दिनुभयो ।
त्यस्तै गोलन्जोर गाउँपालिकामा ५ सय ५०, फिक्कल गाउँपालिकामा ५ सय ५०, मरिण गाउँपालिकामा ५ सय ५०, हरिहरपुरगढी गाउँपालिकामा ५ सय ५०, सुनकोशी गाउँपालिकामा ४ सय र घ्याङलेख गाउँपालिकामा ४ सय पशुमा खोप लगाइएको उहाँले बताउनुभयो ।
अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष सिन्धुली जिल्लाका पशुहरुमा लम्पी स्किन रोग देखा नपरेको सुचना अधिकारी थापाले बताउनुभयो । पछिल्लो समय स्थानीय तहहरुले लम्पी स्किन रोग बिरुद्धको भ्याक्सीन खरिद गरि पशुहरुमा लगाइरहेको हुँदा रोगको संक्रमण घटेको उहाँको भनाई छ ।