सिन्धुली, भदौ १, २०८१ शनिबार । सिन्धुलीमा उत्पादित दुधले जिल्लाकोे मागलाई पुरा गरेको पशुसेवा कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाका पहाडी बस्तीमा अहिले पनि परम्परागत तरिकाबाट पशुपालन भईरहेको भए पनि उत्पादित दुधले बजारको माग पुरा गरेको कार्यालयले जनाएको हो । जिल्लामा पालन गरिएका ९२ हजार भन्दा बढी गाई भैसीबाट दैनिक ९५ हजार लिटर दुध उत्पादन भईरहेको र यसले बजार माग पुरा गरीरहेको कार्यालय प्रमुख प्रभात न्यौपानेले बताउनुभयो ।
कार्यालयले विकट वस्तीमा पुगी आवस्यक औषधी उपचार र परामर्शका काम गरेपनि उत्पादन क्षेत्र बढाउने काम भने नदेखिएको किसानको भनाई छ । कार्यालयले पशुपालनमा आधुनिकीकरण र व्यवसायीककरण गरी खाद्य र पोषण सुरक्षा प्रर्वद्धन गर्ने प्रमुख उद्धेश्य राखेपनि ग्रामिण वस्तीमा यसको कार्यन्वयन भने हुन नसकेको उनीहरुको भनाई छ ।
यता किसानहरुले पनि घरमा जनशक्ती नभए पनि एउटा गाई वा भैसी पालन गरी दुध उत्पादन गरीरहेको बताएका छन् । खेतीपातीको तुलनामा जनशक्ती कम भए पनि एउटा गाई वा भैसी पालन गरी दुध उत्पादन गर्न सकिने भएकाले पशुपालन गरीरहेको कमलामाई ४ का किसान कुमार चौहानको भनाई छ । यस्तै अहिले उत्पादित दुध धेरैथोरै जती भएपनि बजार सजिलै पुर्याउन सकिने र गाँउघरमा पनि बिक्री वितरण गरी खर्च जुटाउन सकिने भएकाले पशुपालन गरीरहेको अर्का किसान चन्द्रकला चौलागाँईको भनाई छ ।
९ वटा स्थानिय तह रहेको सिन्धुलीमा कमलामाई नगरपालिका सिन्धुलीमा दुध उत्पादनको अवस्था राम्रो रहे पनि घ्याङ्लेख, फिक्कल, र हरीहरपुरगढी गाउँपालिकामा दुध उत्पादन राम्रो नदेखिएको जिल्लाका व्यवसायीको भनाई छ । पछिल्लो समय गोलन्जोर, सुनकोशी, तीनपाटन, मरिण गाँउपालिका र दुधौली नगरपालिकाबाट भने दुध संकलन बढ्न थालेको डेरी एशोसियशन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको भनाई छ । पशु सेवा कार्यालयले यी पालिकामा गुणस्तरिय सेवा प्रदान गरे दुधको उत्पादन व्यवसायीकरण गर्न सकिने उहाँको तर्क छ ।